काठमाडौं, भदौ ८ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले देशमा बढ्दै गएको महिला हिंसा, बलात्कार तथा भ्रष्टाचारप्रति सरकार गम्भीर बन्नुपर्ने बताउँदै कडा कानुनी कारबाहीको माग गरेका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सुनारले विभिन्न समयमा भएका बलात्कार तथा हत्याका घटनाको स्मरण गर्दै पीडितका नाम लिएर संसद्मा बहस गर्नु मात्रै पर्याप्त नहुने बताए। उनले यस्ता घटनाको प्रभावकारी अनुसन्धान, दोषीमाथि कडा कारबाही र पीडितलाई न्याय सुनिश्चित गर्न राज्य गम्भीर हुनुपर्नेमा जोड दिए।
सांसद सुनारले सम्झना कामी, निर्मला पन्त, माया कामी, अङ्गिरा पासीलगायतका घटनाको उल्लेख गर्दै पछिल्लो समय गरिमा चौधरीको घटनासम्म आइपुग्दा महिला तथा बालिकाको सुरक्षा गम्भीर चुनौती बनेको धारणा राखे। देशमा चेलीहरू सुरक्षित रूपमा जीवन बिताउन सक्ने वातावरण बनाउन राज्यले प्रभावकारी कदम चाल्नुपर्ने उनको भनाइ थियो।
अपराध र भ्रष्टाचारमा संलग्न व्यक्तिमाथि कुनै सम्झौता गर्न नहुने बताउँदै उनले बलात्कार तथा भ्रष्टाचार प्रमाणित भएका कसूरदारलाई कडा सजाय दिने कानुन बनाउन माग गरे। उनले आक्रोशपूर्ण शैलीमा ‘घटनास्थलमै गोली हान्ने कानुन’ आवश्यक रहेको धारणा समेत राखे ।




