काठमाडौं, भदौ १० । रसुवाको स्याफ्रुबेँसी र टिमुरे क्षेत्रमा आज बिहान आएको भीषण बाढीपछि सरकारले खोजी, उद्धार तथा राहत कार्यलाई उच्च प्राथमिकताका साथ अघि बढाएको छ। बाढीबाट प्रभावित तथा जोखिममा रहेका नागरिकको उद्धारका लागि सुरक्षा निकाय र स्थानीय प्रशासनलाई तत्काल परिचालन गरिएको छ।
प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले सम्बन्धित सबै निकायलाई तत्काल सक्रिय हुन निर्देशन दिएपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय प्रशासन उद्धार तथा राहत कार्यमा खटिएका छन्। उद्धार कार्यलाई थप प्रभावकारी बनाउन स्वास्थ्यकर्मीको टोलीसहित नेपाली सेनाका दुईवटा हेलिकप्टर प्रभावित क्षेत्रमा परिचालन गरिएको छ। आवश्यकताअनुसार निजी क्षेत्रका हेलिकप्टरलाई समेत तयारी अवस्थामा राखिएको जनाइएको छ।
बाढीको जोखिम बढेका तल्लो तटीय तथा अन्य जोखिमयुक्त क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सार्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेँसी सडकखण्ड तथा मुग्लिन–नारायणगढ करिडोरमा अनावश्यक यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरिएको छ।
बाढीबाट उत्पन्न अवस्थाको मूल्यांकन, उद्धार तथा राहत कार्यमा आवश्यक समन्वय गर्न उच्चस्तरीय सरकारी बैठकहरू समेत जारी छन्। गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा सिंहदरबारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आपत्कालीन बैठक बसिरहेको छ।
यसैबीच, प्रधानमन्त्री शाहले थप आपत्कालीन रणनीति तय गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठक बोलाएका छन्। बैठकबाट प्रभावित क्षेत्रको उद्धार, राहत तथा सम्भावित जोखिम न्यूनीकरणका लागि थप निर्णय गरिने अपेक्षा गरिएको छ।




