काठमाडौं, भदौ १० । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवाको विभिन्न क्षेत्रमा ठूलो क्षति पुगेको छ। बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा राहतका लागि सरकारले नेपाली सेनासहित विभिन्न सुरक्षा निकायलाई पूर्ण रूपमा परिचालन गरेको छ।
नेपाली सेनाले चारवटा हेलिकप्टर (टिमुरे, स्याफ्रुबेसी, मैलुङ र त्रिशूली क्षेत्रमा) र स्थलमार्गबाट समेत सैनिक जनशक्ति परिचालन गरेको छ। बुधबारसम्म टिमुरेबाट चार र स्याफ्रुबेसीबाट तीन गरी सात जनाको उद्धार गरिएको छ।
रसुवामा ३५ भन्दा बढी प्रहरी कर्मचारीहरू अझै पनि सम्पर्कविहीन रहेका छन्। केन्द्रीय प्रहरी स्रोतका अनुसार सबैभन्दा बढी प्रभावित यस क्षेत्रमा टिमुरेबाट १५ जना, रसुवागढीबाट ८ जना, स्याफ्रुबेसीबाट ५ जना र मैलुङबाट ७ जना प्रहरी कर्मचारीहरू अझै सम्पर्कमा आउन सकेका छैनन्।
घाइतेहरूको उपचारका लागि काठमाडौंस्थित वीरेन्द्र अस्पतालबाट २० सदस्यीय विशेष मेडिकल टोली त्रिशूलीस्थित सैन्य तालिम केन्द्रमा खटाइएको छ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को निर्देशनपछि सुरक्षा निकाय र प्रशासन पूर्ण रूपमा परिचालन भएका छन्। तल्लो तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न तथा जोखिमपूर्ण राजमार्गहरूमा यात्रा नगर्न आग्रह गरिएको छ। साथै, प्रधानमन्त्रीले अवस्थाको समीक्षा गर्न विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक समेत बोलाएका छन्।
बाढीले सडक तथा पूर्वाधारमा ठूलो क्षति पुर्याएको र हेलिकप्टर अवतरणमा कठिनाइ भइरहेकोले उद्धार कार्यलाई वैकल्पिक माध्यमबाट समेत निरन्तरता दिइएको छ।




