काठमाडौं, भदौ ११ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट विस्थापित तथा प्रभावित बनेका बाढीपीडितहरूका लागि आवश्यक राहत सामग्री सङ्कलन गर्न सरकारले ३ वटा मुख्य स्थान तोकेको छ।
सरकारका अनुसार विदेशबाट हवाई माध्यममार्फत प्राप्त हुने राहत सामग्रीलाई काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको राष्ट्रिय आपत्कालीन गोदामघरमा भण्डारण गरिनेछ। त्यसपछि सरकारले आवश्यकता र प्राथमिकताका आधारमा प्रभावित क्षेत्रहरूमा ती सामग्रीहरू वितरण गर्नेछ।
त्यसैगरी, स्वदेशभित्रबाट प्राप्त हुने राहत सामग्री सङ्कलनका लागि नुवाकोट र धादिङका दुई सैन्य ब्यारेकहरू तोकिएका छन्। दाताहरूले नुवाकोटको बट्टारस्थित नेपाली सेनाको मैथेली ब्यारेक र धादिङको बैरेनी ब्यारेकमा राहत सामग्री बुझाउन सक्नेछन्। सङ्कलित सामग्रीलाई त्यहाँबाट बाढीप्रभावित क्षेत्रमा पुर्याइनेछ।
बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गर्न चाहने इच्छुक व्यक्ति, सङ्घ-संस्था वा अन्तर्राष्ट्रिय निकायहरूले सरकारले तोकेका तिनै स्थानमा सामग्री पुर्याउनुपर्नेछ।
राहत सङ्कलन केन्द्र र सम्पर्क व्यक्तिहरूको विवरण:
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (राष्ट्रिय आपत्कालीन गोदामघर, काठमाडौँ)
सम्पर्क व्यक्ति: श्रद्धा भट्टराई (WFP प्रतिनिधि)
मोबाइल नम्बर: ९८४१८७९२२२
नेपाली सेनाको मैथेली ब्यारेक (बट्टार, नुवाकोट)
सम्पर्क व्यक्ति: आविष्कार (नेपाली सेना)
मोबाइल नम्बर: ९८५१२३४३२४
बैरेनी ब्यारेक (धादिङ)
सम्पर्क व्यक्ति: दिलिप घले
मोबाइल नम्बर: ९८५११५४२२६
प्रमुख जिल्ला अधिकारी र कोषमार्फत पनि सहयोग गर्न सकिने
तोकिएका ३ सङ्कलन केन्द्रबाहेक सहयोग गर्न इच्छुक दाताहरूले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत पनि राहत सामग्री उपलब्ध गराउन सक्ने व्यवस्था मिलाइएको छ।
साथै, सामग्रीको सट्टा वित्तीय/आर्थिक सहयोग गर्न चाहनेहरूका लागि ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ र ‘प्रधानमन्त्री राहत कोष’ मा रकम जम्मा गरी योगदान पुर्याउन सकिने सरकारले जनाएको छ।




