काठमाडौं, भदौ ११ । कुमारी बैंक लिमिटेडले देशका विभिन्न जिल्लामा आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्याउन कुल ३ करोड ३९ लाख रुपैयाँ बराबरको सहयोग उपलब्ध गराएको छ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ३ करोड रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ। विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम उपलब्ध गराइएको हो।
यसैगरी, विपद् प्रभावित क्षेत्रमा खोज, उद्धार तथा अनुगमन कार्यलाई थप प्रभावकारी बनाउन बैंकले करिब ३९ लाख रुपैयाँ बराबरका सामग्री समेत उपलब्ध गराएको छ। बैंकका अनुसार ५ वटा एआई जडित अत्याधुनिक निगरानी ड्रोन, ५ केभीए क्षमताका ३ वटा पोर्टेबल जेनेरेटर तथा १०० वटा पावर बैंक नेपाली सेनाको नुवाकोटस्थित क्याम्पमा हस्तान्तरणका लागि पठाइएको छ।
हालैको बाढी तथा प्राकृतिक विपद्बाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन लगायतका जिल्लाहरू प्रभावित भएका छन्। प्रभावित परिवारलाई राहत, खाद्यान्न, अस्थायी आश्रय तथा अन्य आवश्यक मानवीय सहायता उपलब्ध गराउन नेपाल सरकारसँग समन्वय गरी सहयोग गरिएको बैंकले जनाएको छ।
कुमारी बैंकले विपद् तथा मानवीय संकटका समयमा समुदायप्रतिको आफ्नो सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिँदै आएको जनाएको छ। बैंकले उपलब्ध गराएको सहयोगबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनर्स्थापनाका कार्यमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।
विपद्को यस कठिन घडीमा प्रभावित समुदायप्रति गहिरो दुःख व्यक्त गर्दै बैंकले राहत, उद्धार तथा पुनर्स्थापनाका कार्यलाई थप प्रभावकारी बनाउन सम्बन्धित निकायसँग आग्रह गरेको छ। साथै, बैंकले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ताहरूको सुरक्षित खोज तथा उद्धारको कामना गरेको छ।




