काभ्रे, भदौ १२ । काभ्रेपलाञ्चोकस्थित प्रसिद्ध शक्तिपीठ श्री पलाञ्चोक भगवतीको मूर्तिमा पसिना देखिएपछि जनैपूर्णिमाको अवसरमा मन्दिर परिसरमा विशेष क्षमा पूजा गरिएको छ।
मन्दिर समिति तथा पुजारीका अनुसार गत भदौ ६ गते शनिबार साँझ नियमित आरतीका क्रममा भगवतीको मूर्तिमा अस्वाभाविक रूपमा पसिना देखिएको थियो। उक्त घटना सार्वजनिक भएपछि पूर्वनिर्धारित कार्यक्रमअनुसार जनैपूर्णिमाका दिन बिहान ११ बजे देश तथा जनताको सुख, शान्ति र सुरक्षाको कामना गर्दै विशेष क्षमा पूजा विधिपूर्वक सम्पन्न गरिएको हो।
नेपाली समाजमा पलाञ्चोक भगवती, दोलखा भीमसेनलगायतका प्रसिद्ध धार्मिकस्थलमा रहेका मूर्तिमा पसिना आउनुलाई विशेष धार्मिक संकेतका रूपमा लिने जनविश्वास रहँदै आएको छ। स्थानीय तथा भक्तजनका अनुसार विगतमा यस्ता घटना देखिएपछि देशमा राजनीतिक परिवर्तन, प्राकृतिक विपत्ति, महामारी वा अन्य संकट आएका घटनाहरूलाई धार्मिक दृष्टिकोणबाट जोडेर हेर्ने गरिएको छ। यद्यपि, यस्ता घटनाको वैज्ञानिक पुष्टि भने भएको छैन।
भगवतीको मूर्तिमा पसिना देखिएको भनिएको घटनाको केही दिनपछि रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएपछि उक्त घटनालाई लिएर स्थानीय तथा भक्तजनबीच थप चर्चा भएको छ। मूर्तिमा पसिना देखिएको घटना र त्यसपछि भएको प्राकृतिक विपत्तिबीचको समयगत संयोगलाई कतिपयले देवीको पूर्वसंकेतका रूपमा व्याख्या गरेका छन्। धार्मिक आस्थाका आधारमा गरिएका यस्ता व्याख्यालाई स्थानीय जनविश्वासका रूपमा लिइएको छ।
जनैपूर्णिमाका अवसरमा सम्पन्न क्षमा पूजामा सहभागी भक्तजनहरूले पलाञ्चोक भगवती तथा कालिका भगवतीको शक्तिले देश र सम्पूर्ण नेपालीको रक्षा गरून् भन्दै प्रार्थना गरेका थिए। पूजापश्चात् देशमा शान्ति, सुव्यवस्था, सुख, समृद्धि तथा नागरिकको सुरक्षाको कामना गर्दै माताको आरती गरिएको थियो।




