काठमाडौं, भदौ १४ । माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनामा गएको रातभर गरिएको उद्धार प्रयासपछि बिहान करिब ४ बजे आएको नयाँ बाढीका कारण स्थिति थप जटिल बनेको छ। बाढीले त्रिशूली नदीको जलसतह ५ देखि १० मिटरसम्म बढाउँदा आयोजना क्षेत्रको किनारमा तीव्र कटान सुरु भएको छ।
जोखिम बढे पनि सरकारले पूर्ण सतर्कताका साथ क्षतिको अवलोकन गर्दै थुप्रिएको माटो र लेदो हटाउन डोजर तथा भारी उपकरणहरू पुनः परिचालनको तयारी थालेको छ।
सडक सञ्जाल पूर्ण रूपमा अवरुद्ध भएका कारण सरकारले हेलिकप्टरमार्फत ‘स्पेशल फोर्स’ परिचालन गर्ने निर्णय गरेको छ। पहिरो र माटोले पुरिएको सुरुङमार्ग (टनेल) पोर्टल तथा पावर हाउस नियन्त्रणसँग सम्बन्धित १९ वटा सीसीटीभी क्यामेरा, एचडीआर र सेटअप बक्सहरू सुरक्षित रूपमा निकाल्न पुरिएको भवन नजिकै हेलिकप्टरबाट टोली उतार्ने तयारी अन्तिम चरणमा पुगेको छ।
#rasuwabadhi




