काठमाडौं, भदौ १५ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण उत्पन्न संकटको खोजी, उद्धार, राहत तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन प्रधानमन्त्री वालेन्द्र शाहले सुरक्षा निकायका प्रमुखहरूसँग निरन्तर छलफल गरिरहेका छन्।
प्रधानमन्त्री शाहले सोमबार प्रधान सेनापति अशोकराज सिग्देलसँग रसुवा बाढी प्रभावित क्षेत्रमा हालसम्म भएका खोजी तथा उद्धार, राहत वितरण र घाइतेहरूको व्यवस्थापन सम्बन्धमा विस्तृत ब्रिफिङ लिएका छन्।
रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रमा बाँकी रहेका उद्धारका सबै कार्यलाई उच्च प्राथमिकताका साथ अघि बढाउन निर्देशन दिएका छन्।
प्रधानमन्त्रीले त्यसपछि सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग पनि बाढी प्रभावित क्षेत्रमा भइरहेको सुरक्षा तथा उद्धार कार्यबारे ब्रिफिङ लिने कार्यक्रम रहेको छ। यस्तै, नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग पनि आजै आवश्यक सुरक्षा तथा उद्धार व्यवस्थापनबारे जानकारी लिने तयारी गरिएको छ।
छलफलका क्रममा प्रधानमन्त्री शाहले बाढी प्रभावित नागरिकको जीवन रक्षा, घाइतेहरूको निःशुल्क उपचार तथा राहत वितरणमा कुनै कमी हुन नदिन निर्देशन दिएका छन्। साथै, प्रभावित क्षेत्रमा आवश्यकताअनुसार सबै सुरक्षा निकायलाई २४ सै घण्टा उच्च सतर्कताका साथ परिचालन गर्न समेत निर्देशन दिएका छन्।
सरकारले बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धारलाई पहिलो प्राथमिकतामा राख्दै राहत तथा पुनःस्थापनाका कामलाई समेत तीव्रता दिने जनाएको छ।




