काठमाडौं, भदौ १५ । नेपाल–तिब्बत सीमामा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सद्गुरुको उपस्थितिमा काठमाडौंको पुल्चोकस्थित द प्लाजामा ऐक्यबद्धता कार्यक्रम आयोजना गरिएको छ।
विपद्का कारण ज्यान गुमाएका तथा पीडामा रहेका परिवारप्रति समभाव व्यक्त गर्न आयोजित कार्यक्रममा अभिनेत्री मनिषा कोइराला, काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोल, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलगायत विशिष्ट अतिथिको उपस्थिति थियो। कार्यक्रममा करिब ३ हजारभन्दा बढी सहभागी सहभागी भएका थिए।
कार्यक्रममा अभिनेत्री मनिषा कोइरालाले नेपालले पटक–पटक विभिन्न प्राकृतिक विपद्को सामना गर्नुपरेकोमा दुःख व्यक्त गरिन्। उनले जलवायु परिवर्तनबाट उत्पन्न चुनौती सम्बोधन गर्न नेपाल, भारत र चीन एकजुट भएर अघि बढ्नुपर्ने बताइन्।
सद्गुरुले यति ठूलो विपत्तिका लागि नेपाल सरकारलाई मात्र दोष दिन नहुने धारणा राख्दै विश्व समुदायले समेत मिलेर काम गर्नुपर्ने बताए। बढ्दो जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा उत्पन्न हुन सक्ने विपद्लाई न्यूनीकरण गर्न नेपालसहित छिमेकी राष्ट्रहरू एकजुट भएर हिमाली क्षेत्रको व्यवस्थापनमा अघि बढ्नुपर्ने उनको भनाइ थियो।
उनले विपद्पछि तत्कालै अव्यवस्थित रूपमा पुनर्निर्माण गर्नुको सट्टा विज्ञहरूको टोली गठन गरी वैज्ञानिक र दीर्घकालीन योजनाका आधारमा पुनर्स्थापना गर्नुपर्ने सुझाव दिए। यसबाट भविष्यमा हुन सक्ने क्षति न्यूनीकरण गर्न सहयोग पुग्ने उनको भनाइ थियो।
कार्यक्रममा सद्गुरुले नेपालस्थित आफ्नो संस्था ईशा नेपालले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै, आवश्यकताअनुसार अन्य माध्यमबाट समेत सहयोग गर्न ईशा नेपाल तत्पर रहेको उनले बताए।




