धादिङ, भदौ १८ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा गएको पहिरो हटाई सडक पुनः सञ्चालनमा ल्याउने कार्य तीव्र गतिमा अघि बढाइएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सडक आवागमनलाई उच्च प्राथमिकतामा राखेर दुवै तर्फबाट काम अगाडि बढाइएको हो।
मन्त्रालयले दिएको जानकारी अनुसार पहिरो क्षेत्रको दुवै छेउबाट १८ जना जनशक्ति परिचालन गरी रुख कटानको काम भइरहेको छ। रुख कटानको कार्य सम्पन्न हुनासाथ पहिरो पन्छाउनका लागि दुवैतर्फ तयारी अवस्थामा राखिएका निर्माण उपकरणहरू (हेभी इक्विपमेन्ट) तत्काल परिचालन गरिनेछ।
सडकलाई यथाशीघ्र सुचारु गराउने लक्ष्यका साथ निर्माण उपकरण र जनशक्तिलाई द्रुत गतिमा परिचालन गरिएको मन्त्रालयले स्पष्ट पारेको छ।




