काठमाडौं, भदौ १८ । बाढी तथा पहिरो प्रभावित क्षेत्रहरूमा उद्धार, राहत तथा खोजी कार्यलाई तीव्र पारिएको छ। नेपाली सेना तथा अन्य सुरक्षा निकायको संयुक्त टोलीले हवाई र स्थल मार्गमार्फत खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएका छन्।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार आज (भाद्र १८ गते) बिहान ११:०० बजेसम्म प्रभावित विभिन्न स्थानहरूबाट हवाई साधनमार्फत ६ जनाको सकुशल उद्धार गरिएको छ।
विभिन्न जलविद्युत् आयोजनाका टनेलमा खोजी:
त्रिशूली-३ ‘ए’: ९३ जनाको संयुक्त टोलीले ५ वटा एक्साभेटर प्रयोग गरी रातभर टनेलको आउटलेटमा जमेको लेदो र माटो हटाउने काम गरेको छ। आउटलेटको प्वाल ठूलो बनाउन क्राउन ब्लास्टिङ गरी सफा गर्ने कार्य भइरहेको छ।
लाङटाङ हाइड्रो: विदेशी विशेषज्ञसहित २५ जनाको टोली टनेलभित्र करिब १५० मिटरसम्म प्रवेश गरी दुई स्थानमा प्वाल बनाएर खोजीमा जुटेको छ।
त्रिशूली-३ ‘बी’: सेना, गैरसैनिक र आयोजनाका प्रबन्ध निर्देशकसहितको टोलीले कार्यालय तथा निवास क्षेत्रसम्म पुग्न बबक्याट र एक्साभेटर प्रयोग गरी बाटो खन्ने काम गरिरहेको छ।
चिलिमे हाइड्रो: विदेशी प्राविधिकसहितको संयुक्त टोलीले उद्धार कार्य जारी राखेको छ।
९ हजारभन्दा बढी फौज मैदानमा:
रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रमा नेपाली सेनाका ९ हजार ३ सय भन्दा बढी फौज प्रत्यक्ष रूपमा खटिएका छन्। टोलीले घाइतेहरूको उद्धार, शव व्यवस्थापन, आपत्कालीन स्वास्थ्य उपचार र अवरुद्ध सडक खुलाउने काम गरिरहेको छ।
स्याफ्रुबेँसी, त्रिशूली पारि कोलोनी, तुप्चे, सोले बजारलगायतका क्षेत्रमा स्थलगत गस्ती र खोजी कार्य जारी छ। साथै, नुवाकोटको पिपलटार र देवघाटस्थित होल्डिङ सेन्टरहरूमा सम्भावित सङ्क्रमण रोक्न चिकित्सकीय टोलीले सचेतनामूलक कार्यक्रम सञ्चालन गरेका छन्।
प्रधान सेनापतिद्वारा स्थलगत अनुगमन:
प्रधान सेनापति महारथी अशोक राज सिग्देलले त्रिशूली तथा टनेल उद्धार क्षेत्रको स्थलगत अवलोकन गर्नुभएको छ। अनुगमनका क्रममा उहाँले सरोकारवाला निकायहरूसँग प्रभावकारी समन्वय गर्दै उच्च मनोबलका साथ उद्धार कार्यमा जुट्न सकलदर्जालाई निर्देशन दिनुभएको छ।




