काठमाडौं, भदौ, १९ । गृहमन्त्री सुधन गुरुङले आफ्नो कार्यशैली र भौतिक उपस्थितिमाथि प्रश्न उठाउनेहरूलाई परिणाममुखी बन्न चेतावनी दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले पुरानै ढर्राको नेतृत्व शैली र वर्तमान डिजिटल युगको कार्यशैलीबीचको भिन्नता स्पष्ट पारेका छन्।
हालैको विपद्का घटनाहरूमा उद्धार र राहतको काम भइरहेको बेला मन्त्री गुरुङको कार्यशैलीलाई लिएर विभिन्न टिकाटिप्पणीहरू भएपछि उनले मन्त्रालयको कुर्सीमा बसेर कागजात मात्र पल्टाउने शैली अब नचल्ने बताएका छन्। पुस्ताको अन्तर औंल्याउँदै उनले पुरानो शैलीमा नेतृत्वलाई मन्त्रालयको कुर्सीमा थन्किएर फाइल बोक्ने कुरासँग मात्र जोड्नेहरू गलत युगमा बाँचिरहेको उल्लेख गरेका छन्।
विषयगत मन्त्रालयका उच्चपदस्थ अधिकारीहरूको उपस्थितिमा विपद् प्रतिकार्य कमान्ड सेन्टर पूर्ण क्षमतामा सञ्चालन भइरहेको र अनलाइनमार्फत हरेक ४ घण्टामा रणनीतिक बैठक तथा समीक्षा भइरहेको जानकारी दिँदै उनले वर्षौंदेखि फिल्डको यथार्थ स्थिति नबुझी कुर्सीबाट मात्र आदेश दिने परिपाटीले देशलाई असर गरेको बताएका छन्। उही पुरानो प्रणालीबाट भिन्न परिणामको आशा राखेर फेरि पनि परम्परागत शैलीमै बस्न दबाब दिनु अचम्मको विषय भएको उनको ठहर छ।
भौतिक रूपमा टेबल पछाडि बस्नुभन्दा डिजिटल माध्यमको उच्चतम प्रयोगबाट कामहरू छिटो, प्रभावकारी र पारदर्शी रूपमा भइरहेको दाबी गर्दै मन्त्री गुरुङले आफू कहाँ बसेर काम गरिरहेको छु भन्दा पनि अन्तिम परिणाम के आयो भन्ने कुरामा ध्यान दिन सबैलाई आग्रह गरेका छन्।




