काठमाडौं, भदौ २३ । रसुवामा हालै आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले ५० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
एसोसिएसनले पूर्वनिर्णयअनुसार उक्त रकम सरकारलाई हस्तान्तरण गरेको हो। नाइमाकी अध्यक्ष ऋतु सिंह वैद्यको नेतृत्वमा गएको टोलीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई ५० लाख रुपैयाँ बराबरको सहयोग रकम हस्तान्तरण गरेको हो।
सहयोग हस्तान्तरण कार्यक्रममा नाइमाका बोर्ड सदस्यहरू यमुना श्रेष्ठ, हेमन्त गोल्छा र साहिल श्रेष्ठ, कार्यकारी निर्देशक राजकुमार दुलाल, कार्यक्रम संयोजक ज्ञानु अधिकारी तथा उत्सव कार्कीको सहभागिता रहेको थियो।
सहयोग हस्तान्तरणका क्रममा नाइमा अध्यक्ष वैद्यले ५० लाख रुपैयाँ तुलनात्मक रूपमा ठूलो रकम नभए पनि विपद्को समयमा प्रभावित समुदायप्रति ऐक्यबद्धता र साथ व्यक्त गर्नु सहयोगको मुख्य उद्देश्य रहेको बताइन्।
उनले नाइमाका सदस्य कम्पनीसहित नेपालका अटोमोबाइल आयातकर्ता तथा उत्पादकहरूको तर्फबाट सहयोग प्रदान गरिएको उल्लेख गर्दै प्राकृतिक विपद्का बेला निजी क्षेत्र सरकार र प्रभावित नागरिकसँगै उभिनुपर्ने धारणा व्यक्त गरिन्।
“यो केवल आर्थिक सहयोग मात्र होइन, कठिन समयमा हामी प्रभावित समुदायसँगै छौं भन्ने ऐक्यबद्धताको सन्देश पनि हो,” अध्यक्ष वैद्यले भनिन्।
नाइमाले विपद्का बेला प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि निजी क्षेत्रको सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता पनि जनाएको छ।




