काठमाडौं, भदौ २६ । उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं चिलिमे जलविद्युत् कम्पनीका पूर्वप्रबन्ध निर्देशक कुलमान घिसिङले चिलिमे जलविद्युत् केन्द्रको भूमिगत विद्युत्गृहमा फसेका कर्मचारीहरूको उद्धारमा थप आशा पलाएको बताएका छन्। विद्युतह
फेसबुकमार्फत घिसिङले उद्धार कार्यमा सहभागी हुँदै आवश्यक प्राविधिक सुझाव, समन्वय र सहजीकरण गरिरहेको जानकारी दिएका छन्। उनका अनुसार विद्युत्गृह जाने मुख्य पहुँच सुरुङमा जम्मा भएको लेदो, बालुवा र ढुंगा हटाउने काम तीव्र रूपमा भइरहेको छ। सुरुङ साँघुरिएको स्थानबाट करिब १२० मिटर भित्र आवाज पठाउँदा इको सुनिएको र त्यहाँबाट चिसो हावा समेत आएको घिसिङले बताएका छन्। यसले सुरुङभित्र फसेका व्यक्तिहरू सकुशल रहेको हुनसक्ने आशा बलियो बनाएको उनको भनाइ छ।
घिसिङका अनुसार विद्युत्गृह पुग्न अब करिब १०० मिटर बाँकी छ। साथै स्याफ्रुवेसीतर्फबाट स्केभेटरमार्फत सुरुङसम्म पहुँच मार्ग बनाउने काम पनि तीव्र रूपमा भइरहेको छ। स्केभेटर र लोडर पुगेपछि उद्धार कार्य थप तीव्र हुने उनले बताएका छन्।
उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, भारतीय सेनाका विज्ञ उद्धार टोली, स्थानीय प्रशासन तथा चिलिमे जलविद्युत् कम्पनीका कर्मचारीलगायत टोली खटिएका छन्। घिसिङले उद्धारमा संलग्न सबैप्रति आभार व्यक्त गर्दै सुरुङभित्र रहेका सबै व्यक्तिको सकुशल उद्धार हुने विश्वास व्यक्त गरेका छन्।




