काठमाडौं, भदौ २६ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएकै मितिमा सम्पन्न हुने बताएका छन्। अदालतको फैसला, संविधान र पार्टी विधानअनुसार महाधिवेशन एक घण्टा पनि तलमाथि नहुने उनको दाबी छ।
गिरिजाप्रसाद कोइराला फाउन्डेसनको कार्यक्रममा बोल्दै थापाले महाधिवेशन प्रक्रिया कुनै बहानामा नरोकिने भन्दै नेता–कार्यकर्तालाई ढुक्क भएर सहभागी हुन आग्रह गरे। उनले पार्टीभित्रका विकृति र विसङ्गतिविरुद्ध निर्मम बन्दै आन्तरिक एकता र सहकार्यमा भने लचिलो हुने बताए।
महाधिवेशनपछि कांग्रेस जनतासँग प्रत्यक्ष जोडिने अभियानमा गाउँ–गाउँ पुग्ने तयारीमा रहेको उनले जानकारी दिए। साथै, थापाले गिरिजाप्रसाद कोइरालाले निजी क्षेत्र र खुला बजार अर्थतन्त्रको विकासमा पुर्याएको योगदान महत्वपूर्ण रहेको बताए।
कार्यक्रममा गिरिजाप्रसाद कोइराला फाउन्डेसनको नेतृत्व सुजाता कोइरालाले डा. सुनिल शर्मालाई हस्तान्तरण गरेकी छन्।




