काठमाडौं, भदौ ३१ । सर्वोच्च अदालतको मुद्दा फाँटमा गएराति आगलागी भएको छ। राति कार्यालय बन्द रहेको समयमा भएको यस घटनाबाट फाँटमा रहेका टेबल, कुर्सी र तीनवटा कम्प्युटरमा क्षति पुगेको छ।
बिहान कार्यालय खोल्ने क्रममा मात्र आगलागी भएको घटना बाहिर आएको अदालतले जनाएको छ। बन्द कोठाभित्र भएको आगलागीबाट केही भौतिक तथा विद्युतीय सामग्रीहरू जलेर नष्ट भए पनि अदालतका महत्वपूर्ण मिसिल, फाइल तथा न्यायिक दस्तावेजहरू भने पूर्ण रूपमा सुरक्षित रहेका छन्।
यसअघि पनि दुई साताअघि सर्वोच्च अदालतको अन्डरग्राउन्डमा रहेको कार्यालयमा आगलागी भएको थियो। छोटो समयमै अदालतमा दोस्रो पटक आगलागीको घटना घटेपछि सुरक्षा सतर्कता र कारणबारे चासो बढेको छ।




