काठमाडौं, भदौ ३१ । रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार जनाको शव फेला परेको छ। आयोजनाका एक इन्जिनियरका अनुसार बुधबार दिउँसो पावरहाउसभित्र खोजी गर्ने क्रममा ती शवहरू भेटिएका हुन्।
गत भदौ १० गते तिब्बतको ल्हेन्दे खोला हुँदै भोटेकोशी–त्रिशूली नदीमा आएको भिषण बाढीले चिलिमे जलविद्युत् आयोजनासहित रसुवा र नुवाकोटका करिब एक दर्जन जलविद्युत् आयोजना तथा विद्युत् पूर्वाधारमा ठूलो क्षति पुर्याएको थियो। बाढी आएयता आयोजनाभित्र बेपत्ता भएका कर्मचारी तथा कामदारहरूको निरन्तर खोजी भइरहेको छ।
फेला परेका शवहरूको पहिचान हुन बाँकी छ। हाल सुरक्षा निकाय र सम्बन्धित अधिकारीहरूले शवको सनाखत तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाएका छन्।




