काठमाडौं, असोज १ । नेपाली कांग्रेसको विशेष महाधिवेशनपछि वर्तमान केन्द्रीय कार्यसमितिमा निवर्तमान कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई समावेश गर्ने निर्णय आजदेखि कार्यान्वयन हुने भएको छ।
निर्णयअनुसार निवर्तमान कार्यसमितिका पदाधिकारी तथा केन्द्रीय सदस्यहरू आज पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन, सानेपामा हुने केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुने भएका छन्। बैठकका लागि उनीहरूलाई पार्टीले औपचारिक पत्रमार्फत निमन्त्रणा गरेको जनाएको छ।
केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो २ बजे बस्दैछ। विशेष महाधिवेशनपछि देखिएका आन्तरिक असमझदारीलाई संवाद र पार्टीको विधिमार्फत समाधान गर्दै सबै पक्षलाई मूलधारमा जोड्ने प्रयासस्वरूप निवर्तमान पदाधिकारी तथा सदस्यहरूलाई केन्द्रीय कार्यसमितिमा समावेश गर्ने निर्णय गरिएको हो।
निवर्तमान कार्यसमितिका सदस्यहरू पनि केन्द्रीय सदस्यको हैसियतमा सहभागी हुने भएपछि बैठकमा पार्टीका विभिन्न पक्षका नेताहरू एउटै मञ्चमा उपस्थित हुने भएका छन्। आगामी १५औँ महाधिवेशनको तयारी, संगठन सुदृढीकरण तथा निर्वाचन प्रक्रियालगायतका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
आसन्न असोज १६ देखि १९ गतेसम्म काठमाडौंको खुलामञ्चमा हुने १५औँ महाधिवेशन तथा असोज ३ गतेदेखि सुरु हुने वडा तहको निर्वाचन प्रक्रियाको पूर्वसन्ध्यामा बस्न लागेको बैठकलाई पार्टीभित्रको पछिल्लो अवस्थाका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ।
निवर्तमान र वर्तमान नेतृत्वबीच सहकार्यको वातावरण निर्माण गर्ने प्रयासका रूपमा समेत आजको बैठकलाई चासोका साथ हेरिएको छ।




