काठमाडौं, असोज ६ । काठमाडौँको त्रिपुरेश्वरमा आफैँले चलाएको बसभित्र शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका २५ वर्षीय बस चालक अर्जुन दोङको उपचारका क्रममा कीर्तिपुर अस्पतालमा निधन भएको छ। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ (सिस्नेरी) का दोङको मङ्गलबार बिहान मृत्यु भएपछि मृतकका आफन्त र यातायात व्यवसायीहरू आक्रोशित बन्दै सडकमा उत्रिएका छन्।
सोमबार त्रिपुरेश्वर क्षेत्रमा ट्राफिक प्रहरीसँगको विवादपछि आक्रोशित बनेका दोङले बसभित्रै आफूमाथि आगो लगाएका थिए। गम्भीर घाइते अवस्थामा उद्धार गरी उनलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल पुर्याइएको थियो।
दोङको निधनको खबर सार्वजनिक भएसँगै कीर्तिपुर अस्पताल परिसर र आसपासको क्षेत्रमा आफन्त, यातायात व्यवसायी तथा समर्थकहरूले नाराबाजी गर्दै प्रदर्शन सुरु गरेका छन्। स्थिति नियन्त्रणमा लिन र सम्भावित मुठभेड रोक्न अस्पताल परिसरमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
आक्रोशित परिवारजन र प्रदर्शनकारीहरूले घटनाको निष्पक्ष छानबिन हुनुपर्ने र दोषीमाथि कडा कारबाही गरिनुपर्ने माग राखेका छन्। यसैबीच, स्वतन्त्र चालक सङ्घ नेपालले विज्ञप्ति जारी गर्दै मजदुर तथा चालकहरूलाई आत्मदाहको अवस्थासम्म पुर्याउने चालकविरोधी कानुन तथा नीतिहरू तत्काल संशोधन गर्न सरकारसँग जोडदार माग गरेको छ।




