ललितपुर, असोज ७ । बजारमा खाना पकाउने एलपीजी ग्यासको कृत्रिम अभाव सिर्जना गरेको आरोपमा प्रहरीले ललितपुरको एक ग्यास स्टोरमा छापा मारेको छ। प्रहरीले खानतलासीका क्रममा सिल नभएका तर भरिएका २२ वटा ग्यास सिलिन्डर बरामद गरेको छ।
महालक्ष्मी नगरपालिका–६, सानागाउँस्थित सिद्धिपुर ग्यास स्टोरमा अनुगमन गर्दा यस्तो अनियमितता भेटिएको सातदोबाटो प्रहरी वृत्तले जनाएको छ। पसलबाट सिलसहितका २ वटा र सिल नभएका २२ वटा भरिएका सिलिन्डर नियन्त्रणमा लिइएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पसल सञ्चालकले सिलिन्डरको सिल खोलेर ग्राहकलाई ‘ग्यास सकिएको’ वा ‘सिलिन्डर खाली रहेको’ झुक्को दिने गरेको खुलेको छ। यसरी ग्यास लुकाएर कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्न खोजेको आरोपमा प्रहरीले पसल सञ्चालक ४७ वर्षीय सरोज नेम्कुललाई पक्राउ गरेको छ।
घटनाको पुष्टि गर्दै जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ताले पसल सञ्चालकविरुद्ध थप अनुसन्धान अघाइएको जानकारी दिनुभएको छ। प्रहरीले बरामद गरिएका सिलिन्डर र पसलको विवरण सुरक्षित राखी कानूनी कारबाही प्रक्रिया अगाडि बढाइएको जनाएको छ।




