काठमाडौं, असोज ८ । प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सत्रअन्तर्गत आज हुने महासभाको सामान्य बहसमा नेपालका तर्फबाट सम्बोधन गर्दैछन्। परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाहले सेप्टेम्बर २४ मा महासभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको हो।
न्युयोर्क समयअनुसार दिउँसो ३ बजेदेखि सुरु हुने सत्रमा प्रधानमन्त्री शाहले सम्बोधन गर्नेछन्। नेपालमा भने उनको सम्बोधन शुक्रबार मध्यरातपछि पर्नेछ।
प्रधानमन्त्री शाह सेप्टेम्बर २२ मा कतार एयरवेजमार्फत न्युयोर्क प्रस्थान गरेका थिए। उनी अहिले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै महासभाका विभिन्न कार्यक्रम तथा छलफलमा सहभागी भइरहेका छन्।
प्रधानमन्त्रीको सम्बोधनमा जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको असर, हालैको भोटेकोशी बाढीबाट भएको क्षति, जलवायु न्याय तथा विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लगायतका विषयलाई प्राथमिकताका साथ उठाइने अपेक्षा गरिएको छ।
विशेषगरी न्यून कार्बन उत्सर्जन गर्ने नेपालजस्ता मुलुकले जलवायु परिवर्तनको असमान प्रभाव भोगिरहेको विषय उठाउँदै जलवायु वित्त, प्रविधि हस्तान्तरण तथा जलवायुजन्य क्षतिको सम्बोधनका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको सन्देश प्रधानमन्त्रीले दिने तयारी छ।
न्युयोर्क बसाइका क्रममा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
प्रधानमन्त्री शाह सेप्टेम्बर २६ मा नेपाल फर्कने कार्यक्रम रहेको छ।




