डोल्पा, असोज ८ । नेपालगन्जबाट डोल्पाका लागि उडान भरेको सीता एयरको जहाज जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना हुनबाट जोगिएको छ।
बिहीबार बिहान करिब ८:२५ बजे जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममा उक्त जहाजको पछाडिको दाहिनेतर्फको चक्का फुत्किएर बाहिर निस्किएको थियो।
जहाजमा ७ जना विदेशी नागरिक र ६ जना नेपालीसहित कुल १३ जना यात्रु (११ पुरुष र २ महिला) तथा चालक दलका सदस्यहरू सवार थिए। चक्का फुत्किएपछि पाइलटले तत्कालै इन्जिन बन्द गरी सुझबुझ देखाएपछि सम्भावित आगलागी र ठूलो दुर्घटना टरेको छ।
घटनामा सवार सबै यात्रु र चालक दलका सदस्यहरू पूर्ण रूपमा सकुशल रहेका छन् भने अन्य कुनै भौतिक क्षति भएको छैन।
हाल उक्त जहाज जुफाल विमानस्थलको रनवेमै रहेको छ भने सुरक्षाकर्मीहरू खटिएर थप व्यवस्थापन मिलाइरहेका छन्।




