धादिङ, असोज ९ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा निर्माण गरिएको नयाँ वैकल्पिक सडक (ट्रयाक) पुनः तीव्र जोखिममा परेको छ। गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले मुख्य राजमार्ग क्षति गरेपछि यो वैकल्पिक ट्रयाक सञ्चालनमा ल्याइएको थियो। तर, तल्लो भागबाट त्रिशूली नदीले निरन्तर कटान गरिरहेकाले नयाँ सडक पनि भासिने खतरा बढेको छ।
कृष्णभीरको भौगोलिक बनावट आफैँमा कमजोर रहेको र नदीको कटान जारी रहेकाले सडकको जग कमजोर बन्दै गएको विज्ञहरूले बताएका छन्। हाल पृथ्वी राजमार्गका विभिन्न सात स्थानमा पहिरोका कारण बारम्बार सडक अवरुद्ध हुँदै आएको छ।
सडक डिभिजन कार्यालयको प्राविधिक टोलीले अनुगमन गरिरहेको भए पनि नदी नियन्त्रणको काम निकै चुनौतीपूर्ण बनेको छ। मुलुकको मुख्य ‘लाइफलाइन’ मानिने यो राजमार्गको वैकल्पिक मार्ग नै जोखिममा परेपछि हजारौँ यात्रु र ढुवानी सेवा प्रभावित भएका छन्। दिगो समाधान नखोजिए काठमाडौँ जोड्ने मुख्य सडक सम्पर्क पुनः विच्छेद हुनसक्ने भन्दै स्थानीय र सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्।




