सुनसरी , असोज ९ । पूर्वी पहाडी जिल्लाहरूमा जारी अविरल वर्षाका कारण सप्तकोशी नदीमा बाढीले खतराको तह नाघेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका निमित्त प्रहरी प्रमुख डीएसपी चन्द्र खड्काका अनुसार शुक्रबार दिउँसो सप्तकोशीमा पानीको बहाव प्रतिसेकेन्ड २ लाख १७ हजार ४ सय क्युसेक पुगेको छ।
सप्तकोशीमा १ लाख ५० हजार क्युसेक पानीको बहाव नाघ्ने बित्तिकै खतराको सङ्केत मानिन्छ। जलसतह लगातार बढेपछि कोशी ब्यारेजका ५६ मध्ये ३१ वटा ढोका खोलिएका छन्। तर, नदीमा पानीको बेग तीव्र गतिमा बढिरहँदा पनि ब्यारेजका सबै ढोका नखोलिएका कारण तटीय क्षेत्रका बासिन्दाहरू त्रसित बनेका छन्।
विशेष गरी सप्तकोशीको मध्यभागमा रहेको श्रीलंका टापुका स्थानीय सन्तोष चन्द्रबंशीका अनुसार नदीको बहाव निरन्तर बढ्दै गएकाले आसपासका बस्तीमा डुबानको ठूलो त्रास फैलिएको छ।
पूर्वी पहाडी भू-भागमा वर्षा थप जारी रहने मौसम पूर्वानुमान रहेकाले नदीमा पानीको बहाव अझै बढ्न सक्ने चेतावनी दिइएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक हेमराज ओलीले सम्भावित जोखिमलाई मध्यनजर गर्दै तटीय क्षेत्रका सर्वसाधारणलाई तत्काल सुरक्षित स्थानमा सर्न र उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ।




