काठमाडौं, असोज ११ । हिम्लुङ हिमालको आधार शिविरमा (बेस क्याम्प) लगातारको भारी वर्षा र हिमपातपछि आज बिहान ठूलो हिमपहिरो खसेको छ। हिमपहिरोले बेस क्याम्पमा थापिएका टेन्टहरू पूर्ण रूपमा पुरेको छ भने त्यहाँ रहेका १० जनाको अवस्था अज्ञात र उनीहरू सम्पर्कविहीन रहेका छन्।
पर्वतारोहण सञ्चालकहरूको संस्थाका अनुसार सम्पर्कविहीन हुनेहरूमा ‘हिमालियन हलिडेज नेपाल’ का ८ जना आरोही तथा सहयोगी र ‘इम्याजिन नेपाल ट्रेक्स’ का २ जना किचेन स्टाफ रहेका छन्। मौसमको पूर्वचेतावनीका कारण अधिकांश अन्य दलका सदस्यहरू यसअघि नै तल्लो क्षेत्रमा सुरक्षित रूपमा झरिसकेका थिए भने अहिले सम्पर्कविहीन भएकाहरूको खोजी र उद्धार कार्यका लागि तत्काल पहल थालिएको छ।




