काठमाडौं, असोज १४ । प्रधानमन्त्री वालेन्द्र शाहले संघीय संसद् प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्राविधिक पृष्ठभूमिका सांसदहरूलाई आफ्नो ज्ञान, सीप र अनुभवको अधिकतम उपयोग गर्दै मुलुकको विकासमा योगदान दिन आग्रह गर्नुभएको छ।
बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्राविधिक पृष्ठभूमिका सांसदहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले राजनीतिक विषयभन्दा दीर्घकालीन नीति निर्माण र नयाँ विचारमा केन्द्रित हुन आग्रह गर्नुभयो।
“तपाईंहरू आफैँ प्राविधिक विषयमा जानकार हुनुहुन्छ, मुलुकको नीति निर्माण गर्ने ठाउँमा हुनुहुन्छ, देश विकासका लागि आफ्नो ज्ञान, सीप र अनुभवको अधिकतम उपयोग गर्नुहोस्,” प्रधानमन्त्री शाहले भन्नुभयो।
उहाँले सांसदहरूलाई पार्टी राजनीतिसँगै आफ्नो प्राविधिक दक्षता र व्यावसायिक पहिचानलाई पनि प्राथमिकतामा राख्न सुझाव दिनुभयो। निर्वाचन तथा राजनीतिक गतिविधिका समयमा पार्टी राजनीतिमा सक्रिय हुनु स्वाभाविक भए पनि अन्य समयमा देश विकासका लागि प्राविधिक विषयमा केन्द्रित हुनुपर्ने उहाँको भनाइ थियो।
प्रधानमन्त्री शाहले सांसदहरूलाई ‘असाधारण’ मानिसको संज्ञा दिँदै उनीहरूले नयाँ उपाय र अवधारणा ल्याएर त्यसको कार्यान्वयनमा केन्द्रित हुनुपर्ने बताउनुभयो। नयाँ सोच र योजनाका साथ काम गर्न सके पाँच वर्षमै मुलुकमा उल्लेख्य परिवर्तन ल्याउन सकिने धारणा उहाँले राख्नुभएको थियो।




