भरतपुर, ५ पुस ।
भरतपुर महानगरपालिका वडा नम्बर १० मा रहेको अरोमा कलेजमा कम्प्युटर विषय पढाउने एक जना शिक्षकलाई प्रहरीले यौन दूराचार आरोपमा पक्राउ गरेको छ । कलेजमा अध्ययनरत विद्यार्थीहरुले मंगलबार दिउँसो यौन दूराचारको आरोप लगाउँदै शिक्षकविरुद्ध सडकमा नाराबाजी गरेपछि प्रहरीले शिक्षकलाई पक्राउ गरेको हो ।
व्यवस्थापन संकायमा अध्ययनरत एक छात्रालाई सोही कलेजका एक शिक्षकले यौन दुराचार गरेको विद्यार्थीको आरोप छ । शिक्षकलाई कारबाहीको माग गर्दै विद्यार्थीले कलेज परिसर र बाहिर पनि प्रदर्शन गर्दै तोडफोड गरेका छन् । प्रदर्शनका क्रममा केही विद्यार्थी घाइते भएका छन् ।
अरोमा कलेज परिसर र कलेजबाहिर सडकमा स्थिति तनावपूर्ण भएपछि हिंसा भड्किन नदिन व्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ । प्रहरीले संयमता अपनाई विद्यार्थीलाई सम्झाईबुझाई गरी भिड तितरवितर पार्ने प्रयास गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले प्रहरीका उच्च अधिकारी नै घटना स्थलमा रहेका र घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।




