काठमाडौं १५ पुस
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशबाट फर्केका नेपालीलाई मोबाइल ल्याउन गरिएको कडाइ तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएका छन् ।नेपाल दूरसञ्चार प्राधिकरण श्रोतकाअनुसार प्रधानमन्त्री कार्यालयबाट एमडीएमएस प्रणाली लागू नगर्न निर्देशन आएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि पूर्ण रूपमा सञ्चालनमा ल्याउन लागेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) मा दर्ता नभएका मोबाइललाई अवैध घोषणा गरेर मोबाइल नेटवर्क प्रयोग गर्न नमिल्ने बनाउन लागेको थियो ।
नेपालको भन्सार कार्यालयमा दर्ता नभएका मोबाइल चलाउन नपाउने गरी एमडीएमएस प्रणाली लागू हुन लागेपछि यसको व्यापक विरोध भएको थियो ।
जनस्तरबाट व्यापक विरोध र विदेशबाट नो रेमिटेन्सको ह्यासट्याग अभियान नै सुरु भएपछि प्रधानमन्त्री दाहालले तत्कालका लागि एमडीएमएस प्रणाली लागू नगर्न प्राधिकरणलाई निर्देशन दिएका हुन् ।




