काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको दुईदिने विशेष महाधिवेशन अन्तर्गत जारी बन्दसत्रमा समसामयिक राजनीतिक प्रस्ताव प्रस्तुत गरेका छन्। आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको विशेष महासभाको बन्दसत्रमा उक्त प्रस्ताव पेश गरिएको हो।
प्रस्तावमा सेप्टेम्बर ८–९ मा भएको ‘जेन–जेड आन्दोलन’पछिको राजनीतिक परिवेशमा विशेष महासभाको आवश्यकता र सान्दर्भिकता, विशेष महासभाको कानुनी वैधता, नेपाली कांग्रेसको ऐतिहासिक परम्परा, वर्तमान राजनीतिक अवस्था तथा महासभाबाट तय गरिने नीतिगत प्रस्तावहरूलाई समेटिएको छ।
यसका साथै प्रस्तावमा आम निर्वाचनसम्बन्धी मुद्दा, उन्नत लोकतन्त्र र बहुलतामूलक समाज निर्माण, निर्वाचनपूर्व गठबन्धनको अभ्यासको अन्त्य, सुशासन र भ्रष्टाचार नियन्त्रण, निर्वाचन प्रणालीमा सुधारलगायतका विषयहरू पनि समावेश गरिएको छ।




