काठमाडाैं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि आज राति ९ बजेबाट मतदान सुरु हुने भएको छ। निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार मतदान प्रक्रिया आजैबाट अघि बढाइनेछ।
निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले जारी गरेको कार्यतालिका अनुसार, आज मध्यान्ह १२ः३० बजे प्रथम मतदाता नामावली प्रकाशन हुनेछ। सो नामावलीमाथि दाबी–विरोध तथा छलफलका लागि १ः३० बजेसम्म समय तोकिएको छ। त्यसपछि दिउँसो ४ बजे अन्तिम मतदाता नामावली सार्वजनिक गरिनेछ।
उम्मेदवारी प्रक्रियाअन्तर्गत दिउँसो २ देखि ३ बजेसम्म मनोनयन दर्ता हुनेछ। उम्मेदवारहरूको प्रथम नामावली ४ः३० बजे प्रकाशित गरिनेछ भने ५ बजेसम्म दाबी–विरोध दर्ता गर्न सकिनेछ। उम्मेदवारी छानबिन र मनोनयन फिर्ता गर्न चाहने उम्मेदवारका लागि साँझ ८ः३० बजेसम्म समय तोकिएको छ।
निर्वाचन समितिले जानकारी दिनु भएको छ कि सबै प्रक्रिया पूरा भएपछि साँझ ८ः४५ बजे अन्तिम उम्मेदवार नामावली प्रकाशन गरिनेछ र त्यसपछि राति ९ बजे मतदान सुरु हुनेछ।




