काठमाडौं । आज तामाङ समुदायको पर्व नयाँ वर्ष पर्व सोनाम ल्होछार विभिन्न कार्यक्रम गरी मनाइँदैछ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार पर्व मनाइन्छ ।
मञ्जुश्री पात्रोअनुसार आजदेखि गाई वर्ष पूरा गरी बाघ वर्ष सुरु हुन्छ । यो २८५८ औँ सोनाम ल्होछार हो । मञ्जुश्री पात्रो शुरु भएको २८५८ औँ वर्ष भएकाले सोनाम ल्होछार पनि त्यति नै वर्ष भएको मूल आयोजक समितिले जनाएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपक्षीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्षमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ । यस अवसरमा आज सरकारले देशभर सार्वजनिक बिदा दिएको छ ।




