काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्धको ‘सम्पत्ति शुद्धीकरण’ र ‘सङ्गठित अपराध’ सम्बन्धी अभियोग हटाउने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिटमा आज सुनुवाइ हुँदैछ। सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासमा उक्त मुद्दाको पेसी तोकिएको छ।
महान्यायाधिवक्ता सविता भण्डारीले गत पुस ३० गते लामिछानेविरुद्ध कास्की, काठमाडौँ, रुपन्देही र पर्सा जिल्ला अदालतमा विचाराधीन मुद्दाहरूबाट ‘सङ्गठित अपराध’ र ‘सम्पत्ति शुद्धीकरण’ को दाबी हटाउने गरी अभियोग पत्र संशोधन गर्ने निर्णय गरेकी थिइन्।
उक्त निर्णयलाई ‘गैरकानुनी, बदनियतपूर्ण र स्वेच्छाचारी’ ठहर गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, आयुष बडाल र युवराज पौडेल ‘सफल’ ले सर्वोच्चमा रिट दायर गरेका थिए।




