टोकियो । राष्ट्रपति श्री रामचन्द्र पौडेलले आज जापानको राजधानी टोकियोमा प्रमुख जापानी व्यवसायी, उद्यमी तथा लगानीकर्ताहरूसँग भेटघाट गरेका छन्। भेटका क्रममा नेपाल–जापानबीचको व्यापारिक सहकार्य विस्तार र नेपालमा लगानी प्रवर्द्धनका विषयमा छलफल भएको छ।
कार्यक्रममा नेपाली पक्षबाट ‘नेपालमा व्यवसाय तथा लगानीका अवसरहरू’ विषयमा प्रस्तुति प्रस्तुत गरिएको थियो। उक्त प्रस्तुतिपछि जापानी र नेपाली व्यवसायिक समुदायका प्रतिनिधिहरूले आफ्ना धारणा राखेका थिए। साथै, राष्ट्रपति पौडेलसँगै जापान भ्रमणमा रहेको नेपाली प्रतिनिधिमण्डलका सदस्यहरूले पनि विचार व्यक्त गरेका थिए।
भेटघाटलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले जापानी व्यवसायिक समुदायलाई नेपालमा रहेका व्यवसायिक सम्भावनाहरूको खोजी गर्न आग्रह गरे। नेपालमा लगानी गर्न चाहने लगानीकर्तालाई आवश्यक नीतिगत सहजीकरणसहित सरकारको तर्फबाट सबै सम्भव सहयोग उपलब्ध गराइने आश्वासन दिए।
नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवको अवसरमा राष्ट्रपति पौडेलको जापान भ्रमण भइरहेको छ। यस भ्रमणले दुई देशबीचको आर्थिक, व्यापारिक तथा लगानी सहकार्यलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।
जापानको परराष्ट्र मन्त्रालयका प्रमुख प्रोटोकल अधिकृत, नेपालका लागि जापानी राजदूत तोरु माएदा तथा जापानस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत हरिहर कान्त पौडेलले जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति पौडेलको स्वागत गरेका थिए।
जापान सरकारको निमन्त्रणामा नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवको अवसरमा राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जापान भ्रमणमा गएका हुन्। भ्रमणका क्रममा उनले जापान सरकारले आयोजना गर्ने वार्षिकोत्सव समारोहमा सहभागी हुनेछन्।




