परासी । रुपन्देहीको ओमसतिया गाउँपालिका–४ बसन्तपुरमा मंगलबार बिहान बाक्लो कुहिरोका कारण विद्यालय बस र ट्र्याक्टर ठोक्किँदा २१ जना विद्यार्थी घाइते भएका छन्।
नवलपरासीबाट भैरहवा जाँदै गरेको शान्ति नमुना माध्यमिक विद्यालयका कक्षा ११ र १२ का विद्यार्थी सवार बस विपरीत दिशाबाट आइरहेको धान बोकेको ट्र्याक्टरसँग आमनेसामने ठोक्किएको हो।
प्रहरीका अनुसार कुहिरोका कारण दृश्यता कम हुँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। घाइतेमध्ये १३ जनाको युनिभर्सल मेडिकल कलेज र चार जनाको भीम अस्पतालमा उपचार भइरहेको छ भने सामान्य घाइते चार जनालाई प्राथमिक उपचारपछि घर पठाइएको छ।
प्रहरीले बस र ट्र्याक्टरका चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।




