काठमाडौं, माघ २० । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट युवा नेता गगनकुमार थापा सभापतिमा निर्वाचित भएपछि पार्टीमा सांगठनिक उत्साह मात्र थपिएको छैन, अन्य दल परित्याग गरी कांग्रेस प्रवेश गर्नेहरूको देशव्यापी लहर नै चलेको छ।
पार्टीमा युवा नेतृत्वको उदय र स्पष्ट भिजनका कारण ‘देश र भेष’ बदलिने आशामा एमाले, माओवादी, रास्वपा र जसपा जस्ता दलका प्रभावशाली नेता-कार्यकर्ताहरू पुरानो घर फर्कने र नयाँ प्रवेश गर्ने क्रम तीव्र बनेको हो।
सर्लाही-४ मा गगनको प्रभाव
वडाध्यक्षदेखि प्रदेश उम्मेदवारसम्मसभापति थापा आफ्नो परम्परागत क्षेत्र काठमाडौँ-४ छाडेर सर्लाही क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेपछि तराईमा कांग्रेसको माहोल तातिएको छ। उनलाई सघाउन विभिन्न दलका निर्वाचित जनप्रतिनिधिहरू नै कांग्रेसमा समाहित भएका छन् ।
कृष्णकुमार कुशवाह: बहुजन पार्टीका प्रदेश सभा उम्मेदवार।
चार वडाध्यक्षहरू: गोडैता नगरपालिकाका सुजित महतो, अजयप्रसाद शाह, प्रकाश गुप्ता र विश्वनाथ पण्डित (जो एमाले, माओवादी र जसपाबाट निर्वाचित थिए)।
जसपा र स्वतन्त्र नेताहरू: मुकेश यादव र महेन्द्र यादवसहितका नेताहरूले थापाको ‘डेभलपमेन्ट भिजन’लाई साथ दिने घोषणा गरेका छन्।
‘वैकल्पिक राजनीति’ भनिएको रास्वपालाई धक्का
पार्टी प्रवेशको यो लहर मधेस र पहाड मात्र होइन, हिमालसम्म पुगेको छ। जुम्ला जिल्लाकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उपसभापति तारा शाही रास्वपाको अस्पष्ट दिशाप्रति असन्तुष्टि जनाउँदै कांग्रेस फर्कनुभएको छ। उहाँको पुनरागमनलाई कांग्रेसले वैकल्पिक राजनीतिको दाबी गर्नेहरूमाथि वैचारिक प्रश्नको रूपमा हेरेको छ।
पूर्व नेताहरूको घरफिर्ती र युवाहरूको आकर्षण
विगतका चुनावमा टिकट नपाएर वा अन्य कारणले असन्तुष्ट भई बाहिरिएका प्रभावशाली नेताहरू पनि अहिले धमाधम कांग्रेस फर्कदै छन् ।
धनुषा र जनकपुर: पूर्व उपसभापति सन्तोष यादव र जनकपुरकी पूर्व उपमेयर उम्मेदवार रुना झा एमाले छाडेर कांग्रेस फर्किएका छन्।
गोरखा: वाईसीएलका पूर्व इन्चार्ज कृष्ण लामिछाने “गगन थापा प्रधानमन्त्रीको उम्मेदवार” भएकोले देशमा स्थायित्व आउने विश्वासका साथ कांग्रेस प्रवेश गरेका छन्।
तनहुँ र ललितपुर: तनहुँमा ५८ जना ‘जेन-जी’ युवाहरू र ललितपुरको कोन्ज्योसोममा नेकपाका पुराना हस्तीहरू शेरबहादुर स्याङ्ताङ र प्रताप स्याङ्ताङसहितका नेताहरू कांग्रेसमा जोडिएका छन्।
दोलखामा युवाहरूलाई स्वागत गर्दै कांग्रेस केन्द्रीय सदस्य एवं उम्मेदवार अजयबाबु शिवाकोटीले पार्टीमा आएको यो नयाँ रक्तसञ्चारले आगामी निर्वाचनको अंकगणितमा ठूलो प्रभाव पार्ने दाबी गरेका छन्। अहिले सुकुम्बासी बस्तीदेखि बौद्धिक वर्गसम्म कांग्रेसको नयाँ नेतृत्व र नीतिप्रति आकर्षण बढ्नुले आगामी चुनावमा पार्टीको नतिजा सकारात्मक हुने विश्लेषण गरिएको छ।




