काठमाडौं, माघ २१ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले सातै प्रदेशमा उच्चस्तरीय केन्द्रीय प्रतिनिधि परिचालन गरेकाे छ।
पार्टीको दोस्रो विशेष महाधिवेशनपछि निर्वाचित नयाँ नेतृत्वले चुनावी अभियानलाई थप प्रभावकारी बनाउन उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा रहेको ‘केन्द्रीय निर्वाचन परिचालन समिति’ मार्फत नेताहरूलाई जिल्ला–जिल्लामा खटाएको हो। प्रवक्ता देवराज चालिसेका अनुसार नयाँ ऊर्जाका साथ मैदानमा उत्रिएको पार्टीले प्रत्येक जिल्लाको वस्तुस्थिति बुझ्न र केन्द्रसँग समन्वय गर्न यो कदम चालेको बताइयो। प्रतिनिधिहरूले निर्वाचन अगावै आ-आफ्नो क्षेत्रको विस्तृत प्रतिवेदन केन्द्रमा बुझाउनुपर्ने जिम्मेवारी पाएका छन्।
कोशी प्रदेश अन्तर्गत झापा, इलाम, पाँचथर र ताप्लेजुङमा सहमहामन्त्री डा. डीला संग्रौला, निवर्तमान सहमहामन्त्री भिष्मराज आङ्देम्बे, सुधीरकुमार शिवाकोटी र सुरेश सुब्बा खटिएका छन्। यस्तै मोरङ, सुनसरी, धनकुटा, भोजपुर, तेह्रथुम र संखुवासभामा अमृत अर्याल, मीन विश्वकर्मा, तारामान गुरुङ र उमेशजंग रायमाझीलाई खटाइएको छ भने सप्तरीदेखि सोलुखुम्बुसम्मको क्षेत्रमा बसन्त भट्टराई, नगेन्द्र कुमाल, प्रमिला राई र धर्म नेपाली दर्जी परिचालन भएका छन्।
बागमती प्रदेशको काठमाडौँ, नुवाकोट, रसुवा र धादिङमा बहादुरसिंह लामाको नेतृत्वमा डा. केदारनरसिंह केसी, राजेन्द्रकुमार केसी, प्रतिमा गौतम, जीतनारायण श्रेष्ठ र डा. अमिता प्रधानले जिम्मेवारी सम्हालेका छन्। काभ्रे, ललितपुर र मकवानपुर क्षेत्रमा जीपछिरिङ लामासहितको टोली तथा चितवन, सिन्धुपाल्चोक र भक्तपुर क्षेत्रमा अर्जुननरसिंह केसीको नेतृत्वमा टोली परिचालन गरिएकाे छ।
गण्डकी प्रदेशका विभिन्न जिल्लाहरूमा चीनकाजी श्रेष्ठ, ध्रुव वाग्ले, अब्दुल सत्तार लगायतका नेताहरूलाई फरक-फरक समूहमा विभाजन गरी खटाइएको छ। लुम्बिनी प्रदेशमा डा. गोपाल दहित, कृष्णकिशोर घिमिरे र चन्द्रबहादुर केसीको नेतृत्वमा रहेका टोलीहरूले रुपन्देहीदेखि बर्दियासम्मको चुनावी कमान्ड सम्हाल्ने भएका छन्।
यस्तै, सुदूरपश्चिम प्रदेशको कैलाली र डडेलधुरामा जगतप्रसाद जोशी, सुनिता राना, डा. रणबहादुर रावल र नृपबहादुर वड खटिएका छन् भने कञ्चनपुरदेखि दार्चुलासम्म हिमबहादुर रावलको टोली र डोटी, अछाम तथा बाजुरामा नरेन्द्र भट्टको टोलीलाई जिम्मेवारी दिइएको छ। यी प्रतिनिधिहरूले जिल्लाको चुनावी अवस्था र पार्टीभित्रको एकता सुदृढीकरण गर्दै निर्वाचन केन्द्रित विशेष कार्यक्रमहरू सञ्चालन गर्ने भएका छन्।




