काठमाडौं ७ भदौ
कारोबार हुने साताको तेस्रो दिन शेयर बजारमा सामान्य सुधार आएको छ।मंगलबार उतारचढावका बीच नेप्से परिसूचक १.८१ अंकले बढेर २०५४.९५ विन्दुमा पुग्दा सेन्सेटिभ परिसूचक पनि ०.५८ अंकले बढेर ३९७.६९ विन्दुमा पुग्यो।
बजार सामान्य बढे पनि कारोबार रकम भने सोमबारको तुलनामा घट्यो। २२२ कम्पनीको ४० लाख ३१ हजार २५ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३३ करोड ३५ लाख रूपैयाँको कारोबार भयो। सोमबार १ अर्ब ७२ करोडको कारोबार भएको थियो।
तेह्र उपसूचकमध्ये यसदिन उत्पादन र प्रशोधन समूह २८ अंकले बढ्दा होटल तथा पर्यटन समूह ३७ अंकले घट्यो। अन्य समूह केहीमा सामान्य सुधार आएका छन् भने केहीमा सामान्य गिरावट आएका छन्।
सोमबार जस्तै मंगलबार पनि हिमाल दोलखा हाइड्रोपावरको सबैभन्दा धेरै १४ करोड २१ लाखको कारोबार भयो। रुरु हाइड्रोपावर, मन्दाकिनी हाइड्रोपावर, माथिल्लो हेवाखोला हाइड्रोपावरका लगानीकर्ताले यसदिन पनि १० प्रतिशतले कमाए।




