दोलखा, माघ २५ । जेन-जी पुस्ताका अगुवा एवं दोलखाबाट प्रतिनिधि सभाका स्वतन्त्र उम्मेदवार महेन्द्र खड्काले आफ्नो उम्मेदवारी स्थगन गर्दै नेपाली कांग्रेसका उम्मेदवार अजयबाबु शिवाकोटीलाई समर्थन गर्ने घोषणा गरेका छन्।
आइतबार तामाकोशी–४, मालुस्थित गोलमेश्वर मन्दिरको प्राङ्गणमा आयोजित एक कार्यक्रमका बीच खड्काले शिवाकोटीलाई जिताउन आफ्नो समूह सक्रिय रहने प्रतिबद्धता जनाए। निर्वाचन आयोगले तोकेको उम्मेदवारी फिर्ताको समय सीमा सकिइसकेकाले मतपत्रमा उनको नाम कायमै रहे पनि उनले अब आफूलाई नभई शिवाकोटीलाई मतदान गर्न मतदाताहरूसँग अपिल गरेका छन्।
किन दिए समर्थन?
उम्मेदवारी स्थगनको घोषणा गर्दै खड्काले भावनामा बहकिएर भन्दा पनि अनुभवी र स्पष्ट भिजन भएको नेतृत्वलाई साथ दिनु आजको आवश्यकता रहेको बताए। “जेन-जी पुस्ताले बौद्धिक र जुझारु नेतृत्वलाई समर्थन गर्दा मात्र वास्तविक परिवर्तन सम्भव छ,” खड्काले भने, “शिवाकोटीले दोलखाको आवाज संसद्मा बुलन्द पार्नेमा म विश्वस्त छु।”
कार्यक्रममा नेपाली कांग्रेसका उम्मेदवार अजयबाबु शिवाकोटी र कांग्रेस दोलखाका सभापति वर्मा लामाको समेत उपस्थिति रहेको थियो। खड्काको यो समर्थनले दोलखाको चुनावी समीकरणमा नयाँ मोड ल्याउने अनुमान गरिएको छ।




