काठमाडौं, माघ २६ । इङ्ग्ल्याण्ड विरुद्धको उत्कृष्ट प्रदर्शनपछि दक्षिण अफ्रिकी फास्ट बलर डेल स्टेनले नेपाललाई आवश्यक परेको बेलामा आफू सहयोग गर्न तयार रहेको बताएका छन्।
विश्वविजेता इङ्गल्याण्डविरुद्ध नेपालले देखाएको सनसनीपूर्ण प्रदर्शनबाट प्रभावित भएर डेल स्टेनले सामाजिक सञ्जाल एक्स (X) मार्फत आफ्नो धारणा राखेका हुन्। उनले नेपालले देखाएको साहसी खेललाइ स्टेनले ‘विश्वस्तरीय’ भन्दै तारिफ गरेका छन्। खेलमा हार व्यहोरे पनि नेपाली टोलीको प्रदर्शनले आफ्नो मन जितेको र आफू आजैदेखि नेपाली क्रिकेटको फ्यान बनेको उनले उल्लेख गरेका छन्।
डेल स्टेनको यो भनाइले अहिले सामाजिक सञ्जालमा नेपाली क्रिकेट फ्यानहरूलाई निकै उत्साहित बनाएको छ। एउटा विश्वप्रसिद्ध फास्ट बलरले सार्वजनिक रूपमै नेपालको पक्षमा उभिएर सहयोग गर्ने इच्छा देखाउनु नेपाली क्रिकेटका लागि ठूलो उपलब्धि हो।




