काठमाडौं, माघ २६ । ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा उच्च अदालत विराटनगरले मुख्य अभियुक्त चूडामणि उप्रेती (गोरे) लाई थप १० वर्ष जेल सजाय सुनाएको छ। यससँगै उनले पहिले पाइसकेको जन्मकैद सजायका अतिरिक्त अब १० वर्ष थप जेल बस्नुपर्ने भएको छ।
उच्च अदालतका न्यायाधीश महेन्द्रनाथ उपाध्याय र प्रकाशचन्द्र अधिकारीको संयुक्त इजलासले जिल्ला अदालत मोरङको फैसलालाई आंशिक रूपमा उल्ट्याउँदै अपहरण तथा शरीर बन्धक मुद्दामा गोरेलाई थप सजाय दिएको हो। यसअघि जिल्ला अदालतले उनलाई सनम शाक्यको हत्या गरेको अभियोगमा जन्मकैद सजाय सुनाएको थियो, तर अपहरण मुद्दामा छुट्टै सजाय तोकेको थिएन।
जिल्ला अदालत मोरङबाट यसअघि नै जन्मकैदको सजाय काटिरहेका गोरेलाई न्यायाधीशद्वय महेन्द्रनाथ उपाध्याय र प्रकाशचन्द्र अधिकारीको संयुक्त इजलासले हत्या कसुरमा उक्त थप सजायको फैसला गरेको हो।
यस प्रकरणमा उच्च अदालत विराटनगरले ‘गोरे’ बाहेक अन्य अभियुक्तहरूको हकमा पनि महत्वपूर्ण फैसला गरेको थियो। जिल्ला अदालत मोरङले सफाइ दिएका पूर्व डीआईजी गोविन्द निरौला, एसएसपी दिवेश लोहनी (हाल एआईजीबाट अवकाश), एसपी विकासराज खनाल र डीएसपी सञ्जयबहादुर राउत लगायतका उच्च प्रहरी अधिकारीहरूको सफाइलाई उच्च अदालतले पनि सदर गरेको थियो।




