ललितपुर, माघ २७ । आगामी प्रतिनिधिसभा निर्वाचनको सरगर्मी बढेसँगै ललितपुर क्षेत्र नं. ३ मा चुनावी माहोल तातिएको छ। नेपाली कांग्रेसले यस क्षेत्रमा जिल्ला सभापति जितेन्द्र कुमार श्रेष्ठलाई उम्मेदवार बनाएपछि स्थानीय मतदाता र कार्यकर्ताहरूमा नयाँ उत्साह देखिएको छ।
नेपाली कांग्रेस ललितपुरका सभापति जितेन्द्र कुमार श्रेष्ठ केवल जिल्लामा मात्र सीमित नाम होइन, उनी देशभरकै कांग्रेस वृत्तमा एक ‘बदलिएको परिवेशको बदलिएको कांग्रेस’ बनाउने अभियन्ताका रूपमा परिचित छन्। पार्टीभित्र युवा पुस्ताको आवाज र गगन थापा जस्ता प्रभावशाली नेताहरूसँगको निकटताका कारण उनलाई कांग्रेसको ‘सुनौलो भविष्य’ बोकेका नेताका रूपमा हेरिने गरिएको छ। गगन र जितेन्द्रको सहकार्यले पार्टीभित्रको रूपान्तरण अभियानलाई थप ऊर्जा दिएको विश्लेषण गरिन्छ।
जेनजीको रोजाइ र सुशासनको मार्गचित्र
वर्तमान समयमा युवा पुस्ता जेनजीको मुख्य चाहना भनेकै नागरिक स्वतन्त्रता, भ्रष्टाचारको अन्त्य र सुशासन हो। उम्मेदवार श्रेष्ठले यिनै मुद्दाहरूलाई आफ्नो प्रमुख चुनावी एजेन्डा बनाएका छन्। उनले समृद्ध नेपालको सपना साकार पार्न स्पष्ट मार्गचित्र प्रस्तुत गर्दै भ्रष्टाचारमुक्त समाज र पारदर्शी राजनीतिको वकालत गर्दै आएका छन्। जितेन्द्र कुमार श्रेष्ठको अर्को बलियो पक्ष भनेको उनको समन्वयकारी क्षमता हो। स्थानीय तहदेखि प्रदेश हुँदै केन्द्रसम्म राम्रो पहुँच र प्रभाव भएका कारण ललितपुरको विकासका लागि आवश्यक बजेट र योजनाहरू ल्याउन उनी सक्षम रहेको मतदाताहरूको बुझाइ छ।
उनले भनेका छन्, “मेरो उम्मेदवारी केवल पदका लागि होइन, ललितपुरलाई आधुनिक र समृद्ध सहर बनाउने सपना पूरा गर्नका लागि हो। स्थानीय आवश्यकतालाई केन्द्रसम्म पुर्याउने सामर्थ्य मसँग छ।”
‘रुख’ चिन्ह लिएर चुनावी मैदानमा होमिएका श्रेष्ठले आफ्नो चुनावी अभियानलाई ‘सम्मुन्नत नेपाल’ को यात्राका रूपमा व्याख्या गरेका छन्। ललितपुर क्षेत्र नं. ३ मा उनको आगमनसँगै विकासप्रेमी मतदाताहरूले एक परिपक्व र भिजनरी नेता पाएको चर्चा सुरु भएको छ।
मतदाताहरूसँगको संवादका क्रममा स्थानीयले श्रेष्ठको विगतको योगदानलाई खुलेर प्रशंसा गरेका छन्। ललितपुर क्षेत्र नं. ३ को घरदैलो अभियानमा स्थानीयको उत्साहजनक साथ। ठैवका मतदाता ज्ञानलाल महर्जन भन्नुहुन्छ-“पदमा रहँदा मात्र होइन, नरहँदा पनि हाम्रो सुखदुःखमा साथ दिने नेता नै हाम्रो पहिलो रोजाइ हो।” गोदावरी नगरपालिका वडा नं. १४, ठैबका स्थानीय बासिन्दा पशुपति महर्जनले भन्नुभयाे- “भूकम्पको कठिन समय होस् वा अरु बेला सर्वसाधारणलाई समस्या पर्दा, जितेन्द्र कुमार श्रेष्ठले सधैँ अगाडि सरेर सहयोग गर्दै आउनुभएको छ। दुःखमा साथ दिने यस्तो व्यक्तिलाई यसपटक हामीले जिताउनै पर्छ, उहाँ जिताउनै पर्ने मान्छे हो।”
आफ्नो चुनावी अभियानको क्रममा उम्मेदवार जितेन्द्र कुमार श्रेष्ठले मतदाताहरूसँग भावनात्मक सम्बन्ध जोड्दै आफू यही माटोको सन्तान भएको स्मरण गराउनुभएको छ। घरदैलोका क्रममा उनले भने – “म यही ललितपुरको माटोमा जन्मिएँ, यही हुर्किएँ र यहीका दुःख-सुखसँगै बढेँ। त्यसैले यहाँका दाजुभाइ, दिदीबहिनीहरू मेरो लागि मतदाता मात्र होइन, आफ्नै परिवारजस्तै हुनुहुन्छ।”
भेटघाटका क्रममा स्थानीयबाट पाएको “आफ्नै मान्छे, आफ्नै नेता” भन्ने स्नेहलाई आफ्नो जीवनको सबैभन्दा ठूलो सम्मान ठान्दै श्रेष्ठले संसदमा नीति निर्माणका लागि सुझबुझपूर्ण नेतृत्व आवश्यक रहेकोमा जोड दिए। उनी थप्छन्– “संसद नीति निर्माण गर्ने थलो हो, तसर्थ भावी सन्ततिका लागि समुन्नत नेपाल निर्माण गर्न वर्तमानमा ऊर्जाशील र कर्मठ नेतृत्व चाहिन्छ। म हजुरहरूकै सुझाव र शुभेच्छाका साथ यो जिम्मेवारी सम्हाल्न तयार छु।”
उनले फागुन २१ गते हुने निर्वाचनमा ‘रुख’ चिन्हमा मतदान गरी आफूलाई विजयी गराउन ललितपुर क्षेत्र नं ३ का सम्पूर्ण मतदाताहरूमा हार्दिक अपील समेत गरेका छन्।





