काठमाडौं, माघ २९ । आईसीसी पुरुष टी-२० विश्वकप क्रिकेटमा आज (बिहीबार) समूह ‘सी’ मा रहेका नेपाल र इटालीबीच प्रतिस्पर्धा हुँदैछ। भारतको ऐतिहासिक वानखेडे क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो ३:०० बजे सुरु हुने यस खेलमा नेपाल पहिलो जित दर्ता गर्ने लक्ष्यका साथ मैदान उत्रिनेछ ।
यसअघि भएको रोमाञ्चक खेलमा नेपाल बलियो प्रतिद्वन्द्वी इङल्यान्डसँग मात्र ४ रनले पराजित भएको थियो। जितको नजिक पुगेर पनि हार बेहोरेको नेपाल आजको खेलमार्फत विश्वकपमा सुखद नतिजा निकाल्ने रणनीतिका साथ मैदान प्रवेश गर्दैछ।
नेपाली टोलीको मनोबल बढाउन मुम्बईमा नेपाली समर्थकहरूको बाक्लो उपस्थिति रहेको छ। राष्ट्रिय झण्डा र जर्सीसहित मुम्बई पुगेका खेलप्रेमीहरूलाई स्थानीय जनताले समेत भव्य स्वागत र हार्दिकता दर्शाएका छन्। नेपाली टिमको उत्कृष्ट प्रदर्शन र दर्शकहरूको उत्साहजनक उपस्थितिले यतिबेला विश्वभर चर्चा पाएको छ।
भारतीय सञ्चारमाध्यम र खेल विश्लेषकहरूले समेत नेपाललाई क्रिकेटको उदीयमान शक्तिका रूपमा चित्रण गर्दै नेपाली टोलीको निरन्तर प्रगतिको खुलेर प्रशंसा गरिरहेका छन्।




