काठमाडौं, फागुन ३ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल तराई भू-भागका केही स्थानहरूमा तथा उपत्यकाहरूमा हुस्सु/कुहिरो लागेको छ भने देशको उच्च पहाडी र हिमाली भू-भागमा आंशीक बादल लागेको छ।
आज दिउँसो तराई भू-भागका केही स्थानहरूमा मध्यान्न सम्म हुस्सु/कुहिरो रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू-भागमा साधरणतया बादल लाग्नेछ तथा बाँकी प्रदेशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ र तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भू-भागको थोरै स्थानहरूमा तथा कोशी, बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भाग र बाँकी प्रदेशका उच्च पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।
राती तराई भू-भागका थोरै स्थानहरूमा तुँवालो रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।




