काठमाडौं, फागुन ४ । गत भदौ २४ गते ‘जेन जेड’ आन्दोलनमा अराजकताको फाइदा उठाउँदै काठमाडौँका विभिन्न कारागारबाट फरार भएका सात जना कैदीलाई प्रहरीले पुनः नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँको विशेष टोलीले सञ्चालन गरेको ‘अपरेसन’का क्रममा उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरी आज सार्वजनिक गरिएको हो। पक्राउ पर्नेहरूमा रसुवाका तेन्जिङबहादुर तामाङ, लमजुङका प्रितम गुरुङ, कञ्चनपुरकी बविता तामाङ, काभ्रेका विक्रम नेपाली, दोलखा र सिन्धुलीका दुई जना भुवन तामाङ तथा भारतीय नागरिक रोशन साह रहेका छन्।
परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार विभिन्न आपराधिक मुद्दामा कैद भुक्तान गरिरहेका उनीहरूलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पुनः कारागार चलान गरिएको छ। आन्दोलनको समयमा सुरक्षा संयन्त्रको ध्यान अन्यत्र मोडिएको मौका पारी उनीहरू फरार भएका थिए। प्रहरीले अझै पनि फरार रहेका अन्य कैदीहरूको खोजी कार्यलाई तीव्रता दिएको जनाएको छ।




