ललितपुर, फागुन ५ । “रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ आगामी फागुन ७ गते ललितपुरको इमाडोलमा बृहत् रक्तदान कार्यक्रम आयोजना हुने भएको छ।
७६औँ प्रजातन्त्र दिवसको उपलक्ष्यमा आयोजना हुन लागेको यस कार्यक्रममा महालक्ष्मी नगरपालिका वडा नं. ४ को कार्यालय, लायन्स क्लब अफ काठमाडौँ र ग्वार्को पूर्व इसाई समाजको संयुक्त सहकार्य रहेको छ।
महालक्ष्मी नगरपालिका वडा नं. ४ को कार्यालय परिसरमा हुने उक्त कार्यक्रम बिहान ९:३० बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ। अस्पतालहरूमा हुन सक्ने रगतको अभावलाई मध्यनजर गर्दै कुनै पनि बिरामीको उपचारमा रगतको कमी नहोस् भन्ने पवित्र उद्देश्यले यो मानवीय सेवाको अभियान सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ।
आयोजक समितिले स्थानीय बासिन्दा, युवा तथा सर्वसाधारणलाई यस पुण्य कार्यमा सक्रिय रूपमा सहभागी भई रक्तदान गर्न आह्वान गरेको छ।




