File Photo
काठमाडौं, फागुन ७ । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईंले प्रहरी हिरासतबाटै एक विशेष सन्देश जारी गर्दै आगामी निर्वाचन बहिष्कार गर्न आह्वान गरेका छन्। पूर्वराजा ज्ञानेन्द्र शाहले फागुन ६ गते जारी गरेका वक्तव्यको समर्थन गर्दै प्रसाईंले वर्तमान अवस्थामा चुनावभन्दा देश र धर्म जोगाउनु महत्वपूर्ण रहेको उल्लेख गरे।
आफ्ना स्वकीय सचिवमार्फत सार्वजनिक गरिएको सन्देशमा प्रसाईंले भनेका छन्, “फागुन ६ गतेको राजाको वक्तव्य केवल एक व्यक्तिको धारणा होइन, बरु वर्तमान राजनीतिक अवस्थाप्रति गहिरो चिन्ता र आत्ममन्थनको आह्वान हो। वक्तव्यको मूल भाव स्पष्ट छ—पहिला देश, धर्म र राष्ट्रिय एकता; त्यसपछि मात्र चुनाव।”
प्रसाईंले राजनीतिक अस्थिरता, आर्थिक संकट र बाह्य हस्तक्षेपका बीच केवल निर्वाचनले समाधान नदिने दाबी गरेका छन्।। उनले चुनावमा होमिएका राष्ट्रवादी शक्ति र दलहरूलाई आत्मसमीक्षा गर्न आग्रह गर्दै भनेका छन्, “यो समय कुर्सीको प्रतिस्पर्धा गर्ने होइन, राष्ट्र जोगाउने हो। दलभन्दा माथि राष्ट्र, पदभन्दा माथि देश र स्वार्थभन्दा माथि एकता राखौं।”




