काठमाडौं, फागुन ८ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट अवैध लागूऔषध गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा ४३ वर्षीया समिना अख्तर बेग मिर्जा, २४ वर्षीय मोहम्मद जुनैद र ४४ वर्षीया अफ्साना अमिर हुसेन शेख रहेका छन्।
विमानस्थल सुरक्षा कार्यालय र लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले शुक्रबार बिहान उनीहरूको खानतलासी गर्दा कुल ११ किलो २ सय ७० ग्राम गाँजा फेला पारेको हो। जसमध्ये मोहम्मद जुनैद र समिना अख्तरको साथबाट करिब ३ किलो ८ सय ७० ग्राम र अफ्सानाको साथबाट ७ किलो ४ सय ग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान र कारबाहीका लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ।




