काठमाडौं, फागुन १३ । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १०.३० अंक (०.३९ प्रतिशत) ले बढेर २,६४८.९० विन्दुमा पुगेको छ।
मंगलबार २१.६२ अंकले बढेको बजारले आज पनि सोही लयलाई पछ्याउँदै लगातार दोस्रो दिन सुधार संकेत गरेको हो।
बुधबार कुल १५७ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ भने ९० कम्पनीका लगानीकर्ताले गुमाएका छन्। बाँकी १३ कम्पनीको मूल्य भने स्थिर रहेको छ। दिनभर भएका ४८ हजार ६४० कारोबारबाट १ करोड ४ लाख ५६ हजार ९८० कित्ता सेयर किनबेच भएका छन्।
आज कारोबार रकममा पनि मंगलबारको तुलनामा सुधार आएको छ। मंगलबार ४ अर्ब २३ करोड २४ लाख रुपैयाँको कारोबार भएकोमा बुधबार ४ अर्ब ४५ करोड ११ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ उपसमूहमध्ये फाइनान्स, म्युचुअल फण्ड र व्यापार उपसमूह बाहेक बाँकी १० उपसमूहको सूचक सकारात्मक रहेका छन्। अन्य उपसमूहको वृद्धिले नै समग्र नेप्सेलाई दोहोरो अंकले उकास्न सहयोग पुर्याएको हो।




