काठमाडौं, फागुन १४ । नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै देशभर चुनावी सभाहरूलाई तीव्रता दिएको छ।
जनकपुरमा ‘मधेस सभा’ सम्पन्न गरी प्रतिज्ञापत्र सार्वजनिक गरिसकेको कांग्रेसले आज फागुन १४ गते एकैदिन सुर्खेत र बाँकेमा विशाल चुनावी सभाहरू आयोजना गर्दैछ। यी सभाहरूलाई सम्बोधन गर्न सभापति गगन कुमार थापा र उपसभापतिद्वय विश्वप्रकाश शर्मा लगायतका शीर्ष नेताहरू हेलिकप्टरमार्फत पुग्ने कार्यक्रम रहेको प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन्।
कांग्रेसले आफ्नो चुनावी अभियानलाई अघि बढाउँदै भोलि फागुन १५ गते बुटवल र पोखरामा तथा फागुन १७ गते काठमाडौंमा सभा गर्ने तयारी गरेको छ। कोशी र सुदूरपश्चिम प्रदेशमा पनि सभाको तयारी भइरहेको भए तापनि त्यसको मिति भने तय हुन बाँकी छ।




