काठमाडौं, फागुन १४ । नेपाली कांग्रेसले काठमाडौं उपत्यकाका तीनवटै जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का उम्मेदवारहरूको साझा विकास एजेन्डा समेटिएको ‘भिजन १०’ नामक १० बुँदे प्रतिबद्धता पत्र आज सार्वजनिक गर्दैछ।
काठमाडौं-५ का उम्मेदवार एवं महामन्त्री प्रदीप पौडेलको विशेष पहलमा तयार पारिएको यस मार्गचित्रले आगामी पाँच वर्षमा उपत्यकाको यातायात, पूर्वाधार र दिगो विकासका लागि गरिने साझा कामको खाका प्रस्तुत गर्नेछ। महामन्त्री पौडेलका अनुसार एक्लाएक्लै मुद्दा उठाउनुभन्दा समग्र उपत्यकाको विकासका लागि साझा धारणा बनाउनु प्रभावकारी हुने भएकाले यो पहल गरिएको हो।
तीनवटै जिल्लाका उम्मेदवारहरूको उपस्थितिमा दिउँसो आयोजना हुने कार्यक्रममार्फत यो प्रतिबद्धता सार्वजनिक गरिने जानकारी काठमाडौं कांग्रेसका सचिव सुशन वैद्यले दिएका छन्।




